आखिर के चाहन्छौ तिमी?

 आखिर के चाहन्छौ तिमी? 


आरोहको थकान या 

अवरोहको पिडा 

बसन्तका हरियाली या

बन्जर निर्जीव जमिन 


तिमी खुशीमा रम्न सकेनौ

तिमी दु:खमा खुम्चिन सकेनौ 

बर्षाको स्खलनले झन सुख्खा भयौ  

तालीको गडगडाहटमा झन सुन्ने भयौ 


तिमी ताल बनन, स्थिर हौ

या खोला बन, बेकाबु भै बग 

तिमी देउता बनन, मुर्ती हौ 

या वेस्या बन, नग्न हौ 


हावाको बेगसङै किन बतिन्छौ?

समयको प्रहार किन सहन्छौ? 

सपनाका माला किन गांस्छौ? 

विपनाका व्यंग्य किन पचाउंछौ?


 चाउरी परे तिम्रा स्वछन्द हासो 

 मुर्झाए रहरका कोपिलाहरु

 ऐनामा हेर्दै किन कहालिन्छौ ?

 आजलाई हिजोको विष किन पिलाउछौ? 


तिमी आफ्नो मुर्ति चाहन्छौ कि समाधी ?

इतिहास चाहन्छौ कि उपहास ?

ध्यान चाहन्छौ कि बिज्ञान ?

रस चाहन्छौ कि सकस ?


हे मन, आखिर तिमी के चाहन्छौ? 


Comments