रगतको डल्लो
बाले घर पछाडी केराको झाङ्गमुनि तिग्रे हलीलाइ खाल्टो खन्न लाए ! "मलाइ मरेपछि पिण्डपनि खान नदिने, अर्काको धुरी छाउने यो जाठो रगतको डल्लोलाइ पुर्दिन्छु। यसले बचेर के नै लछार्ने होर ? अर्काको घोडा बन्ने जात, आफु पनि सुख नपाउने, बाउआमालाइ नि बाचुन्जेलीको लागि आखाको कसिंगर ! यसलाई पुर्दिन्छु आज, यसले पनि सुख पाउछे, मैले पनि सुख पाउछु। त नरो सिते, मरेपछि पिण्ड खुवाउने घोर्ले छोरो पाउला अर्को साल !" - चिलिम ट्यारट्यार पार्दै मेरा बा झिल्केले आफ्नी बुडी, मेरी आमा सीतालाई भने !
दुइ दिन अघि घरमा मेरो बहिनि जन्मेकी थिइ ! बालाइ दुइ हल गोरु जोत्ने अर्को लाठे चाहिएको, जन्मी एउटा फूल। बालाई चाहिएको कुलको इज्जत राख्ने भाले, जन्मी अर्काको गाग्रोमा पानि ओसारेर अर्काको प्यास मेट्ने पोथी ।
आमाले पनि सोचिन होला - "म राडीजस्तै कर्म हुदो हो भने यसलाई भावीले भाग्यका रेखा कोर्नु अघि नै मारेकै बेश । म अभागी जस्तै आफ्नै छोरि पुरेको देख्नपर्ने कर्म छ एसको भने यो मरेकै बेस ! रगतको डल्लो हगेर गयो भन्ने सोचौला ।"
"अलि छिटो खन न ए हर्के, आज ढिडो थोरै खाइस कि के। तेरा कोदाली को बल नि तेरो तुरीको बलजस्तै ओइलाएछ, मल खाल्टाको काक्राको बुटो जस्तै ! ल्यामल्याम हान न धर्ति फ़ुट्नि गरि, न्वारनदेखि को बल निकालेर ।
यो कोकोलो सुनेर ठुल्बा आगनमा हस्यांगफस्यांग गर्दै आइपुगे !
"ए राडाबान झिल्के मारोगी, के गर्न लागिस ए जाठो, किन बिहानबिहानै कोलाहाल? "
बाले बहिनीलाई पुर्दिनी रे खाल्टो खनेर ठुल्बा। बाले मलाइ बाघले सिकारलाइ हेरेको जसरि आखा राता पारेर हेरे।
थुइक्क नर्के, त्यो घरमा लक्ष्मीको पाइला परेको देख्न सकिनस? त्यो रगतको डल्लोको के गल्ति छ ? छोरी नभाको भए त कुन दुलोबाट औथिस यो धर्तीमा, झ्याक्ने ? तेरी भाउजु सन्तान पाउन दुनिया भाकल-तिर्थ गर्दै हिडेकी छ, त मुजी भगवानले देको बरदानलाइ पुर्छु भन्ने?
ओइ हर्के यो कोदाली थनकौछस कि तेरा घित्रो भाचिने गरि बजाइदिउ जाठा? एता मुन्टी त्यो कोदाली लेर, तल खेतमा खोलो पसिसक्यो जा मिलाएर आली लगाएर आ !
एकै सासमा जग थर्काएर ठुल्बाले हुक्का को मुन्टो बाबाट खोसे र आफ्नो मुखमा झोसे ! दुइतिन सर्को तानेर आमातिर हेर्दै भने - तिमि के भाकी सिता, यो मुजी चाकको किरोले भन्यो भन्दैमा तिमि आफ्नो छोरीको ज्यान फाल्ने। ज्यानमाराका सन्तान, तिमिहरु लाइ पाप को डर छैन ?
बाआमा निसब्द भै ठूल्बाको कुरा सुनिरहे, बोल्ने आट कसैको भएन । आमाको काखबाट बहिनीलाई खोसेर ठुल्बाले लाडे स्वरमा भने - यो त लक्ष्मी ह। यसले हाम्रो कुलको उत्थान गर्छे । यो जन्मी अब यो साल २ मुरी धान बढि फ़ल्छ। तेरी स्वास्नी र मेरो गोरी गाइ एकै दिन ब्ब्याएका हुन्, गोरी ले बाछी पाई, तेरी स्वास्नीले यो लक्ष्मी। यसलाई ख्याल गर, तेल घसिघसी हुर्का। तेरो बंसकै कल्याण हुन्छ।
बा सोचमग्न भए, आमा रुदै धन्दा गर्न भित्र छिरिन, म खै के मा भुले, सम्झना गर्न सक्दिन ।
Comments
Post a Comment